• टोखा बिस्का: जात्राको प्रादुर्भाव

    टोखा टाइम्स, टोखा । बिस्का अर्थात बिशाल अंजिङ्गर वा सर्प, प्राचीन टोखामा कुनै बेला एक जना राजा राज गर्थे जो तन्त्रमन्त्र द्वारा आफ्नो राज्यमा एकछत्र राज गर्थे। राजाले तान्त्रिक बिद्याका लागि एक जना तान्त्रिक गुरु समेत राखी बिद्या आर्जन गर्थे । एक दिन रानीले राजाको तान्त्रिक कला कौसलको प्रत्यक्ष परीक्षण गर्न चाहिन र राजालाई बिन्ती इच्छा जाहेर गर्छिन, जसलाई राजाले नकार्न सक्दैन र तान्त्रिक मन्त्रोचारण गरी दर्शन पश्चात आफुलाई अक्षेताले हानेर वास्तविक रुपमा फर्काउन भनि अक्षता रानीको हातमा राखिदिन्छन र राजा तान्त्रिक मन्त्रोचारण गरी आफुले आर्जन गरेका बिद्याको प्रयोग विधि अपनाई बिभिन्न रुप दर्शन गराउन थाल्छन, रानी राजाको यो बिद्या, कला, कौशलमा चुर्लुम्म दुब्दै जान थाल्छिन, यस बिचमा राजा बिशाल अजिंगरको रुप धारण गर्न पुग्छन र रानी निकै त्रसित भई आफ्नो संयम् गुमाई हातमा रहेको अक्षता अनायास मुखमा हाल्न पुग्छिन र केहीबेर पछि रानी पनि बिशाल अंजिगर सर्पको रुप धारण गर्न पुग्छिन ।

    राजारानी दुवै जना बिशाल अजिंगर सर्पको रुप धारण गर्दै राजदरवार तथा राज्यका बिभिन्न ठाउँमा भौतारिन थाले । आफ्नो बास्तबिक स्वरुपमा फर्कन धेरै प्रयत्न गर्छन । आफ्नो तान्त्रिक गुरुलाई भेट्न कयौं प्रयत्न गर्छन तर प्रजाहरु सर्प आतंककाे आशंकामा ढुंगामुडा गर्न थाल्छन । राज्यमा बिशाल अजिंगर सर्पको बिपत्ति आइपरेको भन्दै जहाँ देख्यो उही ढुंगामुडा गरी आत्मरक्षा गर्नु भन्ने ग्राम पञ्चायतको उर्द्दी समेत लगाएकाले सर्पको भेषमा रहेका राजारानी भोक भोकै धेरै दिन भौतारिन थाल्छन । सारा प्रजाहरु मिलेर तान्त्रिक पुजारीहरुको सहयोगमा १ जोडा अंजिगर सर्पलाई नियन्त्रणमा लिई बिशाल रुखमा आइन्दा दिनमा कोही, कसैलाई कुनै प्रकारको दुख आतंक भोग्न नपरोस भनि झुण्ड्याइदिन्छन् र यो कार्यको बेली बिस्तार र बिन्ती चढाउन प्रजाहरु दरवार पुग्दा राजारानी दरवारमा नभएको कयौं दिन बितिसकेको र खोजी कार्य भईरहेको जानकारी पाउँछन् । आफ्ना राजारानीको खोजी कार्यका क्रममा राजाका तान्त्रिक गुरुकहाँ गएर राजारानी खोजिदिन हारगुहार गर्छन् । तान्त्रिक गुरुले आफ्ना तान्त्रिक शक्तिद्वारा राजारानीको खोजी गर्दा दुवै बिशाल सर्पको रुप धारण गरी राज्यका बिभिन्न स्थानमा भौतारिदै गरेको देख्छन र प्रजाहरुलाई यो कुरा सुनाउँछन् ।

    प्रजाहरुले भर्खरै आफूहरुले गरेको दुष्प्रयासको बारेमा सम्झन पुग्छन र तिनै सर्प राजारानी हुन सक्छन् भनि भावबिह्वल हुँदै कोकोहोलो गर्दै उक्त स्थानमा जान्छन् । समयले प्रजाहरुको साथ दिएनन ति एक जोडा सर्पले प्राण त्याग गरिसकेको हुन्छन र तान्त्रिक गुरुले ती सर्पहरु नै बास्तबिक राजारानी भएको यकिन गरेपछि राज्यका सारा प्रजाहरु मौन स्तब्ध र आफुले गरेको अक्षम्य अपराध प्रति आक्रोशित हुँदै आत्महत्याको प्रयास गर्न खोज्दा तान्त्रिक गुरुले तन्त्र बिद्या मार्फत सबैको मनलाई स्थिर सम्यम गरी राजारानीको मोक्ष प्राप्त सहित बैकुण्ठबासको यात्राका लागी प्रार्थना पुजाका लागी मृतक सर्पहरु राजारानीको मृत आत्माको शान्तिको कामनाका साथ बिस्केट जात्राको सुरुवाट गरिएको लोक कथन आज पनि टोखामा सुनिन्छ । भगवान बिष्णुको अवतारका रुपमा पुज्ने राजारानीको यो असमायिक घटना र यसले सृजित मानविय संवेदना र शोकलाई बिस्तारै पर्व उत्सवका रुपमा आज बिस्का जात्रा वा नख का रुपमा बिकसित हुँदै आएका छन् ।

    बिस्का: अर्थात सर्पको प्रतिकका रुपमा लामो २ वटा बासमा रातो बस्त्र बेरेर राजारानीको सम्झना स्वरुप सपनतिर्थ द्यछेँबाट निकाले पछि औपचारीक रुपमा बिस्का जात्राको सुरुवाट हुने गर्दछ । सपनतिर्थ मेलाको दिन सपनतिर्थ मन्दिर परिसरमा श्री सिद्धि सपनतिर्थ बिनायकको दर्शन सँगै बिस्का:को दर्शनका लागी पनि राखिएको हुन्छ । जात्रा अवधिभर सपनितर्थ खट सँगसँगै लगिन्छ र अन्तिम जात्रामा सपनतिर्थ खट माथी राखेर जात्रा गरिन्छ र द्यःछेँमा भित्र्याएपछि औपचारिक रुपमा बिस्का जात्रा सकिन्छ ।

    प्रस्तुतकर्ताः प्रकाश डंगोल

    Facebook Comments Box