• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:३० पुष २०७८, शुक्रबार


    बिज्ञापन
  • देशविदेशमा समेत लोकप्रिय बन्दै टोखाको चाकु

    टोखा टाइम्स, काठमाडौँ ।  यतिबेला टोखा  बस्तीमा बनाइएका तातो चाकुको मिठो बास्नाले धेरैलाई आकर्षित गर्ने गरेको पाइएको छ । माघे सङ्क्रान्तिको तयारीसँगै जाडोमा शरीर तताउनसमेत निकै उपयोगी मानिएको चाकुले यतिबेला सबैलाई लोभ्याउने गरेको छ ।
    देशभित्र मात्र होइन, टोखाको मौलिक उत्पादन चाकुले देश बाहिरसमेत मौलिक पहिचान दिँदै छ । पोषिलो चाकुलगायतका मिठाइ बनाएर अन्नसँग साट्ने परम्परादेखि नै त्यस स्थानमा चाकु बनाउने चलन पुर्खाले चलाएको स्थानीय ७५ वर्षीय चाकु व्यवसायी काशीलाल श्रेष्ठ बताउनुहुन्छ ।


    टोखाको पहिचान चाकुको परिकार बनाउने उहाँको पुख्र्यौली व्यवसाय पुस्तान्तरण हुँदै पाँचौँ पुस्तासम्म आउँदा यसको चर्चा र खपतको दायरा उत्तिकै फराकिलो भएको छ । टोखावासीले लामो समयदेखि चाकुको व्यवसायलाई निरन्तरता दिएका छन् । यहाँको मौलिक परिकार चाकुले शरीरलाई भित्रैदेखि न्यानो राख्न मद्दत पुर्‍याउँछ । चाकुले परिकारको महत्त्व दिन प्रतिदिन बढेको चाकु व्यवसायीको भनाइ छ । जाडो मौसममा शरीरलाई तापको आवश्यकता पर्छ ।
    हिटर, एसी, आगो, बाक्लो कपडाको माध्यमबाट शरीरलाई बाहिरी रूपमा तताउन सम्भव छ तर शरीरलाई भित्रैदेखि तातो राख्न र रोग प्रतिरोधात्मक शक्ति बढाउन परम्परागत चाकुलगायतका परिकारको प्रयोग हुँदै आएको छ । विशेषगरी माघे सङ्क्रान्तिको दिन उसिनेको सखरखण्ड, पिँडालु, घिउ, चाकु खाने परम्परा नेपालीको हरेक घरमा छ । हाल चाकुको विभिन्न परिकार अन्तर्राष्ट्रिय बजारसम्म निर्यात हुन्छ ।

    हरायो उखु खेती
    नेपाल भाषामा ‘तु’को अर्थ उखु र ‘ख्य’ भन्नाले बारी हुन्छ । उखु धेरै रोपिने भएकाले तुख्य हुँदै त्यस स्थानको नाम टोखा भएको चाकु व्यवसायी एवं टोखा परम्परागत चाकु संरक्षण समाजका उपाध्यक्ष बुद्ध श्रेष्ठको भनाइ छ । त्यतिबेला उखु रोप्ने, रस निकाल्ने, सख्खर र त्यसबाट चाकु बनाउने काम
    टोखामै गरिन्थ्यो ।
    हाल सहरीकरणका कारण टोखामा उखु खेती हराएको छ । पहिलेको तुलनामा चाकुको बजार विस्तार भएकाले कच्चा पदार्थ धेरै लाग्छ । हाल नेपालको बोर्डर साइड कृष्णनगर, नेपालगञ्ज, रानीनगर, कपिलवस्तु र भारतबाट समेत सख्खर आयात भइरहेको छ ।

    अन्तर्राष्ट्रिय ब्रान्ड पनि
    टोखाका स्थानीयले पहिले चाकु बनाएर पातमै पोको पारेर बेच्थे । स्थानीय काशीलाल श्रेष्ठका अनुसार त्यसबेला चाकु अहिलेजस्तो विदेशसम्म पठाउने चलन थिएन । टोखादेखि नजिक नुवाकोट, साँखु, भक्तपुर, असन बजार, कमलाछीतिर बेचिन्थ्यो । नजिकका बजारमा जाँदा खर्पनमा र अलि टाढा जाँदा डोकोमा समेत बोकेर जान्थ्यौँ, प्लास्टिकको चलन त करिब ३५ वर्ष जत्ति मात्र भएको उहाँको भनाइ छ ।
    टोखाका चाकु उत्पादकहरू त्यहाँको मौलिक प्रसिद्ध परिकार चाकुको गुणस्तरमा एकरूपता ल्याउन र यस व्यवसायलाई फैलाउन टोखा परम्परागत चाकु संरक्षण समाजमार्फत सङ्गठित हुनुभएको छ । समितिले चाकुलाई अन्तर्राष्ट्रिय ब्रान्ड बनाउन समितिले चाकु निर्यातका लागि अङ्ग्रेजीमा टोखा ट्रेडिसनल चाकु कन्जर्भेसन सोसाइटी नाम ब्रान्ड निर्धारण गरेको समाजका अध्यक्ष कृष्णबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
    अस्ट्रेलिया, अमेरिका, जापान, कोरिया, डेनमार्क, क्यानडालगायत नेपाली पुगेका सबै मुलुकमा चाकु र त्यससँग सम्बन्धित परिकार निर्यात हुने श्रेष्ठले जानकारी दिनुभयो । चाकुका परिकार लामो समयसम्म राखेर खान सकिने, पोषिलो, बालबालिका, सुत्केरीदेखि ज्येष्ठ नागरिकले समेत खान मिल्ने भएकाले यसको माग बढेको उहाँको भनाइ छ ।
    विशेषगरी दशैँ–तिहारपछि जाडो सिजनमा चम्कने यस व्यवसायमा महिलाको सहभागिता बढेको व्यवसायीहरू बताउँछन् । अन्य स्थानका परम्परागत नेवार बस्तीमा चाकु बनाए पनि टोखाको चाकु चर्चित छ । चाकु व्यवसायीले सादा चाकु, मसला चाकु, खुवा चाकु, स्पेसल चाकु, तिलको कालो र सेतो लड्डु बनाउँछन् ।

    फोटोः फोटो खिचुवा

    Facebook Comments Box