• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:६ मंसिर २०७९, मंगलवार


    बिज्ञापन
  • काठमाडौं-४ मा गगन थापाको ह्याट्रिक जित

    टोखा टाइम्स, काठमाडौँ । प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा काठमाडौं-४ मा नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापा विजयी भएका छन् । कांग्रेसका महामन्त्रीसमेत रहेका थापाले २१३०२ मत प्राप्त गरी विजयी भएका हुन् ।

    उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजन भट्टराईले १३८५५ मत प्राप्त गरेका छन् । थापाले भट्टराईलाई ७ हजार ४ सय ४७ मतान्तरले पराजित गरेका हुन् । उनको जितको औपचारिक घोषणा हुन भने बाँकी छ । उनको क्षेत्रबाट जम्मा ४५ हजार ५ सय ३ मत खसेको थियो ।

    उक्त क्षेत्रबाट यो उनको चौथो जित हो । संविधानसभा सदस्य निर्वाचन २०६४ मा कांग्रेसका तर्फबाट समानुपातिक सदस्यमा निर्वाचित महामन्त्री थापा संविधानसभा सदस्य निर्वाचन २०७० मा काठमाडौं ४ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए भने प्रतिनिधिसभा सदस्यमा २०७४ मा काठमाडौं-४ बाटै निर्वाचित भएका थिए । उनी यसअघि २०७३ सालमा स्वास्थ्यमन्त्रीसमेत भएका थिए ।

    २०४६ सालको जनआन्दोलनमा विद्यार्थी अवस्थामै राजनीतिमा सक्रिय सहभागिता जनाएका उनी २०५१ सालमा नेविसंघ त्रिचन्द्र क्याम्पसको स्ववियु सदस्यमा निर्वाचित भएका थिए । त्रिचन्द्र क्याम्पसमा २०५३ सालमा स्ववियु सचिव र २०५५ मा सभापतिमा निर्वाचित भएका थापा त्रिभुवन विश्वविद्यालय सिनेट सदस्यसमेत रहेका थिए ।

    २०५७ मा नेविसंघ केन्द्रीय उपाध्यक्ष बन्दै २०५९ सालमा नेविसंघको महामन्त्रीको पद सम्हाले थापा २०६८ मा कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । २०७२ सालमा कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत भएका उनी हाल कांग्रेस महामन्त्रीको रुपमा रहेका छन् ।

    – समाचार ईकान्तिपुर डटकमबाट

    Facebook Comments Box