• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२० मंसिर २०७९, मंगलवार


    बिज्ञापन
  • टोखामा विद्यार्थीको निःशुल्क स्वास्थ्यपरीक्षण हुने

    टोखा टाइम्स, काठमाडौँ । टोखा नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत छ हजार पाँच सय ७५ विद्यार्थीको निःशुल्क स्वास्थ्यपरीक्षण गर्ने भएको छ । नगरपालिकाले उपप्रमुखसंग बालबालिका कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा १० सामुदायिक र तीन वैकल्पिक विद्यालयमा अध्ययनरत छ हजार पांच सय ७५ विद्यार्थीलाई वर्षको एकपटक निःशुल्क स्वास्थ्यपरीक्षण गर्न लागेको हो ।

    नगरपालिकाका शिक्षा अधिकृत खगेन्द्रसिंह धामीले उपप्रमुखसंग बालबालिका कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीलाई विद्यालयमै गएर निःशुल्क स्वास्थ्यपरीक्षण गर्न लागिएको टोखा टाइम्सलाई जानकारी दिए ।

    “स्वास्थ्यपरीक्षण अन्तर्गत नाक, कान, घाँटी, दाँत, मुटु, प्रेसर, रगत समूहलगायतको परीक्षण गरिन्छ, परीक्षण गर्दा जटिल प्रकृतिको रोग देखिएमा अन्य अस्पतालमा सिफारिस गरिन्छ”, उनले भने । टोखाले उक्त कार्यक्रम सञ्चालन गर्न चालू आवमा रु २० लाख बजेट विनियोजन गरेको छ ।

    टोखामा हाल बौडेश्वर मा.वि, झोर महाकाल मा.वि, सरस्वती मा.वि, चण्डेश्वरी मा.वि, जालपा मा.वि, तिलिङ्गाटार मा.वि, धापासी मा.वि, मनोहर मा.वि, चुनदेवी आधारभूत विद्यालय सबै र महादेव आधारभूत विद्यालय रहेका छन् । यस्तै, चेतना महिला वैकल्पिक विद्यालय, बुद्ध नमूना वैकल्पिक विद्यालय र शुभश्री वैकल्पिक विद्यालय रहेका छन् ।

    Facebook Comments Box