टोखा टाइम्स, काठमाडौं । टोखामा आज दिवंगत आफन्तहरूको सम्झनामा सापारु मनाइदैछ । तिथि विवादका कारणले टोखामा आज सापारु मनाइएको हो ।
एक वर्षभित्र दिवंगत भएका आफन्तहरूको सम्झनामा गाई वा मानिसको शीरमा गाईको प्रतिमा सहित विशेष पहिरणले सिंगारी सामुहिक टोखाको कोर क्षेत्रमा नगर परिक्रमा गराईन्छ । साथै साना नानीहरुलाई विशेष पहिरणसहित हातमा धुप बालेर नगर परिक्रमामा सरिक गराइन्छ।
तलेजुका बाह्रथकालीले झ्यालीचा पूजा सम्पन्न गरे पश्चात धिम्ये र प्वं बाजा खलःको टोली बाजा बजाउँदै सामुहिक नगर परिक्रमामा सरिक हुनका लागि तयारी अवस्थामा बस्न सूचना दिँदै नगर परिक्रमा गर्ने चलन छ । आज उक्त सामुहिक नगरपरिक्रममा मध्यान्ह १२ बजेदेखि शुरु हुँदैछ ।
सरस्वती र चण्डेश्वरी धिम्ये खलः तथा प्वं बाजा खालःको नेतृत्वमा हुने उक्त नगर परिक्रमाका क्रममा उनीहरूलाई मृतकका परिवारजन तथा श्रद्धालुहरूद्वारा फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने गरिन्छ । भाद्र कृष्ण प्रतिपदाको दिन गाईजात्रा गर्दा मृतकले गाईको पुच्छर समातेर वैतरणी नदी तर्छन् भन्ने विश्वास छ ।
यसै दिन साँझपख हाये रे हाये जुजु काजी रत्न… लोक भाका घनकाउँदै रोपाई जात्राको लागि वापसा (धानको बिउँ) राखेर आउने समेत गर्छ । यसका साथै विभिन्न हाँस्य व्यङ्गात्मक प्रहसनका साथै सांस्कृतिक झाँकीहरु समेत प्रस्तुत गर्ने गरिन्छ ।
आजबाट जात्रा टोखा मूल बस्तीमा जात्रा अवधिभर सवारी साधन पुनः रुपमा प्रवेश निषेध गरेको छ ।