टोखा टाइम्स, त्रिशूली । अर्थमन्त्री डा प्रकाशशरण महतले काठमाडौँको टोखाबाट नुवाकोटको छहरेसम्मको सुरुङ मार्ग निर्माणमा चीन सरकारको सहयोग जुटाइने बताएका छन्।
नेपाली कांग्रेस नुवाकोटले आज विदुरमा आयोजना गरेको तीज विशेष शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुरुङ मार्ग निर्माणले चीनसँगको व्यापारिक गतिविधिमा उल्लेख्य योगदान पुग्ने भएकाले चीन सरकारसँग सहयोग माग्न लागिएको बताए।
‘प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका क्रममा माग गरिने सहयोगको कार्यक्रममा सुरुङ मार्ग निर्माणको प्रस्तावलाई अर्थ मन्त्रालयबाट प्राथमिकतामा राखेका छौँ,’ उनले भने, ‘योजना सम्पन्न गर्न करिब रु ५० अर्ब लाग्ने अनुमान छ, यो वर्ष नेपालले रु एक अर्ब बजेट विनियोजन गरेर सुरुवात गरेकाले चीनको सहयोग भित्र्याएर योजना सम्पन्न गर्नेमा केन्द्रित हुनेछौँ।’
नेपाल–चीनको व्यापारिक नाका रसुवागढी हुँदै राजधानी काठमाडौँ आउजाउ गर्न सबैभन्दा छोटो दूरीमा पर्ने नुवाकोटको सडकलाई सुरुङ मार्गमार्फत काठमाडौँमा जोड्नसके दुई देशीय व्यापारको ढुवानीमा अहिलेको भन्दा आधा खर्च कम गर्न सकिने अर्थमन्त्री डा महतको भनाइ छ। रासस