काठमाडौँ । सभामुख अग्नीप्रसाद सापकोटाले राष्ट्रिय महत्त्वका विषयहरूमा दलका नेताहरू र नागरिकसमेत ध्रुवीकरण हुन लागेको भन्दै थप ध्रुवीकरण हुन नदिन त्यस्ता विषयहरूलाई संसद्मा टेबल गरिएको बताएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुख सापकोटाले निरन्तरको अवरोधका बीच संसद्मा राष्ट्रिय महत्त्वका विषयहरूमाथि नै छलफल हुन नपाएको भन्दै संसद् सञ्चालनमा सहयोग गर्न आग्रह गरे । ‘लामो समयदेखि अवरुद्ध संसद् सुचारु गर्न विगत लामो समयदेखि जारी अवरोधका कारण संसद् सुचारु हुन सकिरहेको छैन । यसबाट राज्य सञ्चालनका सम्पूर्ण पक्ष र आयामहरूमा प्रभाव परिरहेको छ,’ उनले भने, ‘राष्ट्रिय महत्त्वका विषयवस्तुहरूलाई समेत छलफलमा ल्याई निष्कर्षमा पुग्नुपर्ने अवस्थामा जारी अवरोधले थप प्रतिकूलता सिर्जना गरेको छ ।’
सभामुख सापकोटाले राष्ट्रिय महत्त्वका विषयमाथि छलफल हुन नपाउँदा त्यसले सबै क्षेत्रका मानिसहरूमा ध्रुवीकरण सिर्जना गरेको बताए । ‘दलका शीर्ष नेताहरू, सांसदहरू, संविधानविद्, कानुनविद्, सञ्चारजगत्, बुद्धिजिवी एवं लब्धप्रतिष्ठित व्यक्ति व्यक्तित्वहरूको भावनाको समेत सम्मान गर्दै नेपाली समाजलाई थप ध्रुवीकरण हुनबाट रोक्न पनि राष्ट्रिय महत्त्वका विषयवस्तुलाई कार्यसूचीमा समावेश गरी छलफल गरिनु उपयुक्त हुन्छ भन्ने लागेको छ,’ उनले भने, ‘त्यसैले अहम् महत्त्वका विषयहरूलाई आजको कार्यसूचीमा समावेश गरिएको छ ।’
उनले संसद्मा छलफल गर्ने वातावरण बनाउनसमेत सबैलाई आग्रह गरेका थिए । संसद्मा अवरोधका बीच आइतबारको बैठकमा सरकारका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी पेश गरेका छन् ।