• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२४ मंसिर २०८०, आईतवार


    बिज्ञापन
  • लैङ्गिक हिंसा अन्त्य गर्ने टोखाको प्रतिबद्धता

    टोखा टाइम्स, टोखा, २४ मंसिर । टोखा नगरपालिकाले लैङ्गिक हिंसा अन्त्य गर्ने प्रतिबद्धता गर्दै लैङ्गिक हिंसा विरुद्वको विश्वव्यापी १६ दिने अभियानको आज एक कार्यक्रमको आयोजना गरी समापन गरेको छ ।

    टोखा नगरपालिका कार्यपालिकाको कार्यालय मैजुहिटीको सभसहलमा आज अभियानको अन्तिम दिन ‘लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान-२०८० कार्यक्रम समिक्षा एवं जनप्रतिनिधि, कर्मचारी र सरोकार संस्थाका प्रतिनिधिहरूका लागि कानुनी अनुशिक्षण तथा अन्तरक्रिया कार्यक्रम’ गरिएको हो ।

    नगर प्रमुख प्रकाश अधिकारीको सभाध्यक्षतामा उपप्रमुख मुरारी तामाङ र प्रशासनीक प्रमुख अधिकृत शेर बहादुर बी.सीको विशेष आतिथ्य तथा ११ वटै वडाका वडाध्यक्षहरुको आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा अधिवक्ता सविन श्रेष्ठले ‘लैङ्गिक हिंसा अवस्था र कानुनी व्यवस्था’ विषयकमा सहजिकरण गरेका थिए ।

    कार्यक्रममा नगर प्रमुख तथा कार्यक्रमका सभाध्यक्ष प्रकाश अधिकारीको ‘म कुनै प्रकारको हिंसा गर्दिन । म हिंसा सहन् । कसैले हिंसा गरेको देखेमा प्रतिकार गर्नेछु ।’ भन्ने वाक्य उच्चारण गर्दै प्रतिबद्धता जाहेर गर्दै कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । अधिकारीले कार्यक्रममा सम्बोधन गर्दै लैङ्गिक हिंसा मुक्त समाज र नगर निर्माणमा टोखा नगरपालिका तत्पर रहेको प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।

    त्यस्तै, टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङले लैङ्गिक हिंसाको अन्त्यका लागि टोखा नगरपालिका आवश्यक कानुनको व्यवस्था गरी नगरपालिकाबाट लैङ्गिक हिंसाको अन्त्य गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

    उक्त कार्यक्रममा स्वागत मन्तव्य सहित कार्यक्रमको औचित्यमाथी प्रकाश पार्दै प्रमुख प्रशासकीय अधिकृत श्री शेर बहादुर वि.सी ले लैङ्गिक हिंसा विरुद्ध दिवसको औचित्यता र मानव अधिकार दिवसको शुभकामना दिदै महिला विरुद्ध हुने सबै प्रकारका हिंसाको अन्त्य गर्ने साथै टोखा नगरपालिकाले चाडै कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार (निवारण) ऐन जारी गर्न आवश्यक तयारी सुरु गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै, उहाँले टोखा नगरपालिकाले १६ दिने अभियानका क्रममा विविध कार्यक्रमको आयोजना गरी लैङ्गिक हिंसा विरुद्धको सचेतना अभियान मनाएको समेत कार्यक्रममा जानकारी दिनुभएको थियो ।

    विद्यायक समितिका संयोजक तथा टोखा नगरपालिका–३ का वडाध्यक्ष रमेश डंगोलले महिला तथा बालाबालिका शाखासँगको समन्वयमा आवश्यक नीति नियम र कानुनको निर्माण गरी लैङ्गिक हिंसाको अन्त्यका लागि अगाडि बढ्ने बताउनु भयो ।

    त्यस्तै, टोखा नगरपालिका–६ की वडाध्यक्ष शान्ता खनालले लैङ्गिक हिंसाको अन्त्य गर्न पहिला हाम्रो सोचमा सकरात्मक परिवर्तनको विकास हुनु पर्नेमा जोड्दिनु भयो । जबसम्म सोचमा परिवर्तन हुँदैन तबसम्म कुनै पनि परिवर्तन हुन्न नसक्ने उनले जिकिर गर्नुभयो । उहाँले महिलाहरु आर्थिक रूपमा बलियो हुन सकेमा यस्ता घटनाहरुको अन्त्य हुने विचार राख्नु भएको थियो ।

    महिला तथा बालबालिका शाखा प्रमुख बिमला वाग्लेले सञ्चालन गरेको कार्यक्रममा जनप्रतिनिधि, कार्यपालिका तथा नगर सभा सदस्य, विविध शाखाका प्रमुख तथा कर्मचारी, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

    Facebook Comments Box