• टोखा टाइम्स

    • प्रकाशित मिति:२४ भाद्र २०८१, सोमबार


    बिज्ञापन
  • हिमालयन आर्ट फेस्टिभल बबरमहलमा सुरू, सारदा चित्रकारले गरिन् उद्घाटन

    टोखा टाइम्स। २०८१ भाद्र- २४

    काठमाडौँ– बबर महल स्थित नेपाल आर्ट काउन्सिल (कला परिषद्) मा सप्ताहव्यापी कला प्रदर्शनी सुरु भएको छ ।

    आइतबार देखि सुरु भएको उक्त कला प्रदर्शनीको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति शारदा चित्रकारले उद्घाटन गरिन।

    कार्यक्रममा उनले नेपाल कला, संस्कृतिको धनी मुलुक भएकाले यसलाई कलामार्फत विश्वमाझ प्रचारप्रसार गर्नसके नेपालको पर्यटन प्रवद्र्धधनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

    ई-आर्ट्स नेपालकी सह-संस्थापक आशा डङ्गोलका अनुसार यस सप्ताहव्यापी कला प्रदर्शनी आयोजना गर्नुको मुख्य उदेश्य नेपाली कलाकारले कोरेका कलालाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउन र नेपाली कलाकृतिहरूलाई नेपालीहरूको घरमा सजाउने र नेपाली कला क्षेत्रमा रहेको विविधता र सृजनशीलताको प्रचारप्रसार गर्नु हो।

    ‘दशैंमा धेरै मेलाहरूको आयोजना भइरहेको हुन्छ । नेपाली कलाको कमि थियो, त्यही अवस्थालाई मनन गर्दै नेपाली कलाकारहरूको समकालीन अवस्था र प्रोत्सानका साथ सन् २०१७ देखि यो फेस्टिभलको आयोजना गर्दै आइरहेका छौँ,’ ई–आर्टस् नेपालकी एरिना ताम्राकारले भनिन् ।

    सन् २०१७ मा समसामयिक चित्रकला र मूर्तिहरूबाट सुरू गरिएको यस फेस्टिभलमा जम्मा ५० जना कलाकारहरूले भाग लिएका थिए । त्यसपछि २०१८ देखि काठमाडौं उपत्यकामा रहेका कलाकारहरूका विभिन्न संस्थाहरूसँग कुराकानी गरेर उनीहरूको सपोर्ट लिँदै थप कलाकारहरू थप्दै गएको कलाकार एरिना बताउँछिन् । यही कारणले गर्दा पनि यो कला प्रदर्शनी एक वृहत् सामुहिक मेलाको रूपमा वर्षेनि आयोजना हुँदै आएको छ ।

    अहिले हुने प्रदर्शनीमा कलाका विभिन्न विधालाई समेटिएको छ । नेपाली वरिष्ठ कलाकारहरूदेखि वर्तमानका पुस्ताका कलाकारहरूको कामलाई प्रदर्शनीमा राखिएको छ । कलाकारहरूः सारदा चित्रकार , कृष्ण मानन्धर, किरण मानन्धर, शशीकला तिवारी, राजन काफ्ले, आशा डंगोल, एरिना ताम्राकार, भाइराज मर्हजन, प्रमिला बज्राचार्य, बिनोद प्रधान, जुपिटर प्रधान, चन्द्रा श्रेष्ठ, रीता मानन्धर, सम्झना राजभण्डारी, संगी श्रेष्ठ, विधाता के.सी, सागर मानन्धर, सरिता डंगोल आदिदेखि हालका युवा कलाकारहरूमा टोखाका रवि श्रेष्ठ , शंखनारायण श्रेष्ठ , इशान परियार, सविता डंगोल, सुजन डंगोल, लगायत करिब १२० जना कलाकारहरूको कलाकृति एउटै थलोमा हेर्न सकिन्छ ।


    आगामी शनिबार (भदौ २९ गते) सम्म चल्ने फेस्टिभलमा करिब १२० भन्दा बढी कलाकारहरूले आफ्नो कला प्रदर्शनीमा राखेका छन् ।

    Facebook Comments Box