टोखा टाइम्स, १९ चत्रै, काठमाडौं । ऐतिहासिक साँस्कृतिक नगरी टोखाको मौलिक परम्परागत विस्काः जात्रा २०८२ को व्यवस्थापनको लागि विशेष भेला सम्पन्न भएको छ ।
मंगलबार तलेजु मन्दिर प्राङ्गणमा टोखा संस्कृति संरक्षित क्षेत्र विकास समितिले राखेको विशेष भेलामा टोखाका मेयर प्रकाश अधिकारी टोखा २र ३ का वडाध्यक्षद्वय धर्मेन्द्र श्रेष्ठ र रमेश डंगोल, टोखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ, नेवाःगुथि टोखाका अध्यक्ष रमेश नापित, तलेजु मूनायो हेमराज श्रेष्ठ, सम्बन्धित द्य: खल:, पुजारी, बाजा खल:, विभिन्न राजनीति दल, सामाजिक संघसंस्था, नेपाल प्रहरी, ट्राफिक प्रहरीका पदाधिकारीहरू बीच मेला तथा जात्रा व्यवस्थापन सम्बन्धि प्रारम्भिक चरणको बैठक बसेको हो ।
मेला तथा जात्रालाई व्यवस्थित रूपमा शान्तिपूर्ण भव्य र सभ्य रूपमा सम्पन्न गर्न बसेको भेलाले टोखा नगरपालिकाका नगरमुख, उपप्रमुख र २ र ३ वडाका वडाध्यक्षहरू संरक्षक रहने गरी संस्कृति क्षेत्र विकास समितिका अध्यक्षको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गर्ने र त्यस समिति मार्फत सम्पुर्ण काम कार्वाही गर्ने निर्णय गरेको छ । जसमा तलेजुका मूल नायो: हेमराज श्रेष्ठ र नेवाः गुथि टोखाको सह संयोजन तथा टोखामा क्रियाशील विभिन्न राजनीतिक दल, संघसंस्था, द्यः खल:, बाजा खल:, नेपाल प्रहरी, ट्राफिक प्रहरी समेतको सदस्यता रहने छ ।
बैठकमा बैशाख १ गते राष्ट्रप्रमुखलाई सपनतीर्थ मेलामा सरिक गराउन निमन्त्रणा गर्ने, जात्राका क्रममा कुनै पनि संघसंस्थाको लोगो अंकित लुगा लगाउन बन्देजका कडाइ गर्ने, सवारी पार्किङको व्यवस्थापन, जात्राको समय तालिका तयारी, सडक बत्ती जडान, चोक तथा मन्दिरमा सी.सी. क्यामरा जडान, खानेपानी, सपनतिर्थ मेलाको सिद्ध पोखरीमा स्नान गर्न लुगा फेर्ने स्थानको व्यवस्थापन, सार्वजनिक शौचालयको व्यवस्थापन, पसल तथा टोलटोलमा राखिएको मदिराजन्य वस्तुको बिज्ञापन व्यानर हटाउने, सरसफाइ लगायतको विषयमा छलफल भएको थियो ।
बैठकमा गत वर्षको समीक्षा गर्दै यसपालिको मेला तथा जात्रालाई लक्षित गर्दै कुनै पनि कमिकमजोरी नरहने गरी तयारी गर्नु पर्ने, साथै आफुले पाएको जिम्मेवारी सबैले इमानदारीपूर्वक निर्वाह गर्नु पर्ने, जात्राका क्रममा खटको उचित व्यवस्थापन र खट बोकि रहेको बेला वियर लगायत मदिरा हातहातमा दिन बन्द गर्नु पर्ने, ड्रोन चलाउन प्रतिबन्ध लगाउनु पर्ने, जात्राको समयमा कुनै पनि अमर्यादित क्रियाकलाप तथा झैझगडा हुलदंगा गरेमा जात्रा अवधिभर प्रहरी हिरासतमा राख्ने लगायतको विषय मुख्य रूपमा उठेको थियो ।
टोखामा क्रियाशिल संघसंस्थाहरूलाई समेति विस्का: जात्रा मूल व्यवस्थापन समितिको गठन आउँदो २५ सम्ममा गरिसक्ने बैठकले निर्णय गरेको छ । साथै आवश्य उपसमितिको गठन गरि जिम्मेवारी दिइनेछ ।