• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:१ बैशाख २०७९, बिहीबार


    बिज्ञापन
  • टोखा विशेषः सपनतीर्थ मेला र बिस्काः नखः एक चर्चा

    टोखा टाइम्स , सुविन्द्र श्रेष्ठ । बिक्रम संवत्को नयाँ वर्ष आगमनसंगै पौरानिक, धार्मिक, साँस्कृतिक, ऐतिहासिक एवं प्राचीन नगरी टोखामा बिस्का: नखः(बिस्केट जात्रा) सुरु हुन्छ । टोखाको धार्मिक तीर्थस्थल सपनतीर्थ मेलासंगै ४ दिनसम्म हर्षोल्हासका साथ बिस्का नखः टोखाबासीले मनाइदै आइरहेको छ । टोखाको विशेष पर्व उत्सवका रुपमा यो जात्रालाई लिने गरिन्छ । मौलिक बाजागाजाको मौलिक धुनमा भातृत्व र सदभाव र शीष्टताका साथ उल्हास तथा साँगीतिकमय वातावरणमा धुम्धामसँग यो पर्व माइने गर्दछ । टोखाबासीहरूको एकताको प्रतीकको रुपमा समेत यस जात्रालाई लिने गरिन्छ । टोखाको यस बिस्काः नखः लाई काठमाडौँको बिस्का नखः का रुपमा लिइन्छ । तथापी प्रचार प्रसारको अभावका कारण ओझेलमा परेको टोखाको बिस्काः  नखःको बारेमा जनमानसमा त्यती भिज्न सकिरहेको छैन । आफ्नै छुट्टै मौलिकता बोकेको यस टोखाको बिस्काः  नखः तथा टोखालाई नै सबै समुदायमाझ चिनाउँने प्रयासका कार्यहरू केहि वर्ष यता विस्तारै भएको देखिन्छ । त्यसो त विगतका केही वर्षहरूदेखि बिस्का नखः मा प्रत्यक्ष सहभागि भई अवलोकन गर्न आउँनेहरूको संख्यामा वृद्धि भैरहेको देखिन्छ ।

    सपनतिर्थ मेलाको शुरुवाट र किम्वदन्ती

    किम्वदन्ती अनुसार-सत्य युगमा एक राज परिवारमा राजा सत्यवन्तका सात वटी छोरीहरु थियो । ६ जना छोरीहरुलाई सम्भ्रान्त राजपरिवार राजकुमारहरु सँग विवाह गरी दिए र एक जना कान्छी छोरी सत्यकेशरीलाई गरीब असहाय अपाङ्ग कुष्ट रोगीसँग विवाह गरी दिएछ । ६ जनाको हकमा दाइजो पनि अनगिन्ती र सत्य केशरीको हकमा केही पनि नदिएको र दया माया साथ सहयोग केही नपाएको स्वच्छ हृदय र दृढ विश्वास आमाबुबा प्रति अपार निष्ठा भएको कारणले बुबाआमाको वचनलाई स्वीकर्य गरी आफ्नो कर्ममा लेखि आए अनुसार सिरोधरी गरी रोगी पतिको घरमा गई घरजम गर्न लागे । शारिरीक तंदुरुस्तको लागि खानेकुरा(अन्न) त चाहिन्छ नै अन्न पानी विना बाच्न सक्ने अवस्था हुँदैन त्यसैको खोजी नितीको लागि आफ्ना घर छाडी भिख माग्दै जाने क्रममा एक दिन श्री सपनतिर्थ मन्दिर परिसर सिद्धिपोखरी नजिकैको पाटीमा पुगेछ । आफ्ना अपाङ्गता भएको पतिलाई त्यसै पाटीमा छोडी आफु शहरमा गई भिख माग्न जान्छीन् ।

    त्यही समयमा नजिकैको सिद्धिपोखरीमा गाईवस्तु चराउन आएका गोठालाहरुले किरा फ्ट्याग्राहरु खोेजेर ल्याई खुट्टा पखेटा छुट्याँउदै त्यस पोखरीमा फल्ने र एक छिनमै ती किरा- फट्याग्रा जस्ताको तस्तै संवल भै भुरुरुर उडेर जाने एवं तरिकाले ती प्रकृया चलिरहर्‍यो । निकै सयमसम्म हेरिरहे र केही समय पछि आफ्नो शरीर पनि अपाङ्ग र कुष्टरोग लागिरहेकाले म पनि त्यस पोखरीमा गई डुब्न पाएँ मेरो पनि शरीर स्वस्थ र सवलाङ्ग पो हुने हो कि भनेर निकै सोच विचार गरें । धेरै सोच विचारपछि त्यही रमाइ रहेका गोठालाहरुलाई बोलाई आदरताकासाथ मलाई पनि त्यस पोखरीमा लगि डुबाइदिनोस् म पनि किराहरु जस्तै स्वस्थ र सपाङ्ग पो हुने हो कि भनी अन्नुनय र विनय गरे तर कसैले पनि त्यस कार्य गर्न मानेन र आँट पनि गरेन । फलस्वरुप आफैले आफु बसेको पाटीबाट गुल्टिदै गुल्टिदै त्यस पोखरी नजीक पुगी आफुले लगाएको वस्त्र फुकाली त्यस सिद्धिपोखरीमा हाम फाल्यो । केहि वेर पछि आफ्ना अपाङ्ग भएको शरीर सवलाङ्गको रुपमा परिणत भयो र अच्चमित र आश्चर्य मानी खुसीले पहिलेकै ठाउँमा वस्त्रलगाइ त्यही पाटीमा वसे । त्यो दृश्य देखेर त्यहाँ खेलिरहेका गोठालाहरुले हल्ली खल्ली मच्चायो सबै तिरबाट मानिसहरु जम्मा भएर हेर्न आउनेको ताँती लाग्यो । त्यसै समयमा माग्न गएका सत्य केशरी पनि आइपुगे मान्छेको घुइचो बीचमा यताउता आफ्ना पतिलाई खोज्छीन् भेटाउन सक्दैन र देख्न सक्दैन त्यही ठाउँमा सवलाङ्ग निरोगी मान्छे बसेका छन् । केही छिन पछि म त्यही अपाङ्ग कुष्टरोग लागेका मान्छे हु म तिम्रै पति हु भनेर भने पनि पत्याउदैन, पत्याउनु पनि कसरी राजकुमारी साथ केशरीले मलाई छलछाम गर्न लागेको मेरो ईज्जत र अस्तित्व लुट्न लाग्यो मेरो पति तिमी कुनै हालतमा हैन भने पछि ती सत्यकेशरीको पतिले आफुले मागेको कुरा र देख्ने मानिसहरुको मुखबाट सबै सव-विस्तार सुनाए पछि वल्ल विश्वास गरे । सत्यकेशरी र अपाङ्ग कुष्ट रोगी दुवै जना खुसी भए । रमाए र एक आपसमा भेला भएका मानिसहरुसँग पनि खुसी साटासाट गरे त्यस सिद्धिपोखरीका वारेमा व्यापक छलफल गरे । समय छिपिदै जाँदा भेला भएका अपार जनसमुदाय सबै आ-आफ्ना घर तिर जाँदै त्यस पोखरीको प्रचार प्रसार गर्दै गयो र त्यस सपनतिर्थ मन्दिरको सिद्धपोखरीको महत्व बढ्दै गयो । आफ्ना शरीरमा देखा परेका कुनै पनि रोग व्यथाहरु त्यस पोखरीमा स्नान गर्नाले निको हुने जन- विश्वासका साथ यस सपनतिर्थमा मेला लाग्ने गर्छ । त्यो जन विश्वासले अहिले सम्म त्यतिकै महत्वका साथ मेला लाग्ने गर्छ ।

    बिस्काः नखः(जात्रा)                                                              

    बैशाख १ गतेदेखि विधिवत रुपमा टोखाको बिस्काः नखः को शुरुवाट हुन्छ । बैशाख १ गतेदेखि ४ गतेसम्म मौलिक परम्परा अनुरुप टोखामा साँगीतिकमय वातावरणमा हर्षोल्हासका साथ मनाईने गर्दै आइरहेको छ । बैशाख १ गते ऐतिहासिक धार्मिक तिर्थस्थल सपनतिर्थमा रहेको सपनविनायक मन्दिर तथा सिद्ध पोखरीमा ठुलो मेला लाग्ने गर्दछ । बैशाख १ गतेको कुरा गर्नु पुर्व त्यसका लागि तयारीका बारेमा चर्चा गर्नु सान्दर्भिक देखिन्छ ।

    बैशाख १ गतेका लागि सपनतीर्थमा रहेको सिद्धपोखरीमा पानी थुन्ने गरिन्छ । यो कार्य मेला हुने चारदिन अगाडी गरिन्छ । पुरै माटोको ड्याङ्ग बनाएर खोलाको पानीलाई थुनि पोखरीमा पानी जम्मा गरिन्छ । यसरी पानी थुन्ने कार्यलाई स्थानीय भाषामा बाहः पनेगु भनिन्छ । पोखरी थुन्ने कार्यमा सहभागी सबैलाई द्यः खलकले छुसेमुसे खाजको रुपमा ख्वाइन्छ । यसरी पोखरी बनाइसके पछि उक्त पोखरीमा कसैले पनि छुनुहुन्न यहाँसम्म कि चराचुरुङ्गीहरुलाई समेत त्यस पोखरीको पानी छुन्न दिदैन । रातदिन मन्दिर खलकहरु पैरादिएर बस्ने गर्दछ ।

    चैत महिनाको अन्तिम दिन बेलुका सपनविनायक गणेश तथा चण्डेश्वरी भगवतीको खटलाई विशेष बाजागाजा र मुस्याप्वाँ(दियो)का साथ संयुक्त नगर परिक्रमा गराई सपनाविनायक गणेशलाई सपनातिर्थमा र चण्डेश्वरी भवतीलाई चण्डेश्वरी परिसरमा लगेर विसाइन्छ र रातभर जागराम बसी देव देवीको आराधाना गरिन्छ । त्यस्तै राती मसानकाली देवीघरबाट नवदुर्गाका मुर्तिहरु सहितको जाली खटमा राखेर टोखाको महत्वपुणर् चोकमा घुमाउँदै विसाउँदै नगर परिक्रमा पश्चात मन्दिरको पूर्वपट्टी ज्यापूको मसानघाटमा खट विसाएर मुर्तिहरु मन्दिर भित्र सजाउने कार्य गरिन्छ । गणेश, कोथु गणेश, महादेव, सरस्वतीको मुर्तिहरु पनि आ-आफ्नो मन्दिर परिसरमा लगेर रातभर सजाउने कार्य गरिन्छ । यस्तै साँझ तपलाछी स्थित लिङ्गेश्वर महादेवको प्रतीकका रुपमा रहेको यंसी (लिंगो) मा हलपटाय् (विश्व ध्वज) फहराउने गरिन्छ । यसरी हलपटाय् यँसीमा फहराई सकेपछि जात्रा शुरु भएको संकेटका रुपमा लिइन्छ । बैशाख १ गते नयाँ वर्षको आगमनसंगै सपनतिर्थ मेला सुरु हुन्छ । सपनतिर्थमा रहेको सिद्धपोखरीमा मेला भर्न देशका विभिन्न ठाउँबाट भक्तजनहरुको उपस्थिति हुन्छ । यस दिन अर्थात बैशाख १ गतेका दिन सपनतिर्थमा रहेको सिद्धिपोखरीमा स्नान गर्नाले

    रोगहरु निको हुने जनविश्वास रहंदै आई रहेको छ । यसै दिन दिउँसो भुतखेल स्थित मसानकाली मन्दिर परिसरमा हृदयविदारक महायज्ञ गरिन्छ । आचाजु मार्फत देवीलाई जमिनमा उम्रिएका १ सय ८ प्रकारका अन्न, एक जोडी जिउँडो भंगेरा, एक जोडी सर्प र एउटा निख्खर कालो बोको जीवित्तै दनदनी बलिरहेको आगोमा होम गर्ने र पुजा गर्ने गरिन्छ यो बेलुका ४ बजे तिर प्रारम्भ गरिन्छ ।

    सपनतिर्थ परिसरबाट सपनविनायक गणेशको खटलाई साँझ नगरमा फर्काउने काम गरिन्छ । नासल पाचामा अवस्थित पाटीमा एक घन्टा जति विसाएर फल्चा गुठीद्वारा सम्याय् बजि दिने चलन छ र पुजा आजा गरे पछि सम्याय् बजि दिइन्छ, त्यस लगतै खटलाई नगर परिक्रमाका लागि चण्डेश्वरी भगवतीको खटलाई प्रतिक्षाका साथ दुबै खटको तालमेल मिलाइन्छ । चण्डेश्वरी परिसरमा चण्डेश्वरी देवीलाई मरजा (विशेष प्रकारको भात) खुवाएपछि खटलाई विशेष नाय् बाजागाजा साथ नगर परिरक्रमा गराइन्छ । त्यस संगसंगै सपनाविनायक गणेशको पनि उपस्थिती रहन्छ र नगर परिक्रमा पश्चात् साँझ ७ः०० बजे तिर चण्डेश्वरी देवीको खटलाई थलाग टोल र सपनविनायकलाई यलाग टोलमा विसाइन्छ र रातभर भजनकृतन गरिन्छ ।

    बैशाख २ गते विहानी जात्रा ७ः०० बजे मुल खलकका ५ जना मध्ये तीन घर धुरीबाट जाड संकलन गरी भैल द्यः भन्ने तामाको ठुलो घ्याम्पोमा हालि टोखा परिक्रमा पछि मासानकाली मन्दिर परिसरमा मरजा खुवाइन्छ । बिस्केट जात्राको पहिलो प्रमुख सुरुवाट विशेष देवी मध्येको एक नवदुर्गा मसानकालीको खट अगाडी बढाउन मन्दिर परिसरमा भक्तजनहरुको भेला हुुने गर्छ । सिन्दर जात्राका लागि हातमा लावा, सुकुन्दा पुजाका सामग्रीका साथ सिन्दुर जात्रामा सहभागी हुन्छ । बाजागाजाका साथ विहान ८ः०० बजे तिर खटलाई नगर परिक्रमा गराइन्छ । खटले कुनै घरमा धक्का दिएमा वा छोएमा मात्र पनि अनिष्ट हुने जनविश्वासका कारण विशेष सावधानि पुर्वक खटलाई अगाडी बढाइन्छ ।

    सपनविनायक तथा चण्डेश्वरी भगवतीको खटलाई पनि विशेष बाजागाजा तथा सिन्दुर जात्राका साथ नगर परिक्रमा गराइन्छ । विहानै पहिला चण्डेश्वरी तथा सपनतिर्थको खट अगाडी बढाइ सकेपछि मात्र मसानकालि नवदुर्गाको खट अगाडी बढाइन्छ । यी तीन वटा खटको विशेष जात्राले विहानको जात्रालाई निकै रोमाञ्चक बनाई दिन्छ । मासनकालीको खट नगर परिक्रमा पछि भुतखेलको पाटीमा बिसाइन्छ । कोथु गणेशको पुजा गरी मसानकाली नवदुर्गा देवीको पुजा गर्न पुजारी त्यहाँ सामेल हुने गर्छन र पाटीका गुठियारहरुको तर्फबाट विशेष पुजा गरी थुम्बा (भ्याँचा) बलि दिई सम्याय् बजि दिइन्छ र संगसंगै कोथु गणेश र मसानकालीको खटले पुनः टोखा परिक्रमा गर्छ, हासल टोलमा अर्को विशेष पुजा गरिन्छ । यो संगै मसानकाली र कोथु गणेशको खट थलाग टोलमा विसाइन्छ । गणेशको खट पनि मरजा खुवाएर नगर परिक्रमा पश्चात् थलाग टोलमा विसाइन्छ र यसरी नै महादेव र सरस्वतीको खटलाई पनि नगर परिक्रमा बिनानै थलाग टोलमा बिसाइन्छ र दिउसो १ः०० बजे तिर सम्ममा सबै खटलाई थलाग टोलमा बिसाइन्छ ।

    दिउँसो सिन्दुर जात्रामा सबै खलः पुचः गुठी तथा संघ संस्थाको आ-आफ्नो विशेषतागत बाजागाजाका साथ दिउँसो ३ः०० बजे तिर पुजाआजा सहित जात्राका लागि सयौँ संख्यामा सिन्दुर जात्रामा सामेल हुन्छन् । ३ः०० बजे सरकारी पुजा संगै खटलाई नगर परिक्रमा गराइन्छ । सरकारी पुजामा टोखाको जिवित देवी गणेश कुमारीले सबै खटहरुलाई परिक्रमा गरिसके पछि खट उठाइन्छ । खट उठाए लगत्तै सिन्दुरले भव्य रुपमा जात्रा गरिन्छ । खटहरुलाई नगर परिक्रमा गराई साँझ ६ बजे तिरसम्ममा सात वटै खटहरु थनेलाछीमा विसाइन्छ । खट बिसाउने ठाउँमा पहिला नै रातो माटोले लिटपोट गरिएका हुन्छन् । २, ३ र ४ गते टोखामा भए भरका मौलिक बाजागाजाहरु सुन्दुर जात्रामा सहभागिभएर जात्रालाई धुम्धामसँग मनाइन्छ ।

    साझको जात्रा तथा याँ प्याखँ                                                               

    साँझ ९ बजे तिर दाफा खलक तथा भजन खलकहरु सातै वटा खट अगाडी सात भजनमण्डलीहरु आफ्नो भजन आरधनाका लागि उपस्थित हुन्छन् । मन्दिरको खट अगाडि मत्च्या जात्राका लागि मत्च्या गुठीका सबै गुठी पुचः तथा दियो बाल्न ईच्छुक ब्यक्ति, परिवार, समुहहरु धमाधम उपस्थित हुने गर्दछन ।

    यस दिन साँझ इन्द्रायणी दाफा खलः याँ प्याखँ (मौलिक लोक नृत्य) प्रदर्शनका लागि यलाग टोल स्थित नाथेश्वरी मन्दिरमा पुजाआजा गरी थने लाछी दबलीमा राति ९ बजे तिर बैधिक याँ प्याखँ प्रदर्शन गर्दछन् । यस याँ प्याखँ बिशुद्ध टोखाको मौलिक गीति नाचको रुपमा लिइन्छ । जहाँ याँ प्याखँ, माक प्याखँ, मयुर प्याखँ, नाग प्याखँ लगाएत विविध बैधिक नृत्यहरु देखाउने गर्दछन् । यो नृत्यमा गीति नाटकमा आधारित भएकाले बाजाको ताल र गीत लयमा नृत्य प्रस्तुत गर्नु पर्छ । हेर्नेहरुका लागि यो याँ प्याखँ शिक्षा, सन्देशमुलकका साथै रोमाञ्चक तथा आनन्दमय भए तापनि यो नृत्य गर्न त्यतिनै कठिन र मुस्किल पनि ।

    बैशाख ३ गते (खट स्नान) – यस दिनको जात्रा बिस्काः नखः को बिशेष जात्राका रुपमा लिइन्छ । यस दिन नारायण पोखरीमा खट स्नान गर्ने मेला हुनेभएकाले विहान ७ बजे तिर थनेलाछीमा खट उठाएर चाँडैनै खटलाई हाँसल टोलमा बिसाइन्छ । यता यंसि(लिंगो) खलकहरु जम्मा भएर लिंगोमा हालिएको हलपटा(विश्वध्वोज विशेष आभुषण) निकाल्ने काम गर्दछन् र नायख्यी बाजाका साथ चण्डेश्वरीको विशेष जात्रा सकिएको उद्घोष गर्दछन् । अपरान्ह १२ बजे सम्ममा सबै खटहरु बिसाई सकेका हुन्छन र दिउँसो ३ बजे पुनः सिन्दुर जात्रासंगै रथ नारायण पोखरीमा लगेर स्नान मेलामा ५ वटै खटलाई जात्रा गरी मसानकाली मन्दिर परिसर परिक्रमा गरेर पुनः पोखरी मार्ग भएर नगर परिक्रमा गर्न लाग्दा मसानकाली तथा कोथु गणेशको मिल्यमत्तोमा जात्रालाई केही समय लम्ब्याउन बाटो छेक्ने कार्य गरिन्छ । जसमा गणेशले पनि साथ दिइन्छ भने चण्डेश्वरी र सपानाविनायक एक समुह बन्ने गर्दछ भने मसानकाली, कोथु गणेश र गणेश दोस्रो समुह बन्छ । केही समय पछि कोने लाछीमा पनि यस्तै बाटो छेक्ने काम हुन्छ । यसरी पोखरीमा स्नान गराउनेलाई गहना खोजेको प्रतीकका रुपमा समेत लिइन्छ ।

    यो साँझ खटहरु कोनेलाछीमा बिसाउने भएकाले चण्डेश्वरी  र सपनविनायकलाई अतिथ्य स्वीकार्न मसानकाली र कोथु गणेशले आग्रह गर्छ, तर भक्तजनले पाँचै जनाको दर्शन गर्न लालायित भएकाले भक्तजनहरुलाई दर्शन दिन जाऔँ भन्दै सपनविनायकले अगुवाइ गर्छन र सबै खटहरु आपासि मैत्रिका साथ अगाडी नगर परिक्रमामा अघि बद्छन् । यो कार्यले आपसी मित्रता तथा माया सद्भावलाई बढवा दिएको छ । नबुझनेहरुले गलत अर्थ निकालेकाले थने र कोने अर्थात सरस्वती र चण्डेश्वरी बीचको खाडल खन्ने गर्दछन् तर जे होस जात्रालाई सहज र रमाईलो पार्न यो कार्यले निकै प्रसंशनिय भुमिका खेलेको छ जसबाट हामीले धेरै कुरा सिक्न सक्छौँ । रात्रीकालिन समयमा अघिल्लो २ गतेको राति जस्तै मत्या जात्रामा याँ प्याखँको आयोजना हुने गर्दछ ।

    बैशाख ४ गते अन्तिम दिन – विहानै खटहरु उठाई नगर परिक्रमा पश्चात् गःछेँ टोलमा विसाइन्छ, मसानकाली भने आफ्ना खल पुचःका घरघरमा गई बाली उठाउँने कार्य गर्दछन् । दिउँसो २ बजे सम्ममा मसानकाली माईको खट बिसाइ सक्छन् । अन्तिम जात्राको  तयारीमा प्रत्येक टोलका टोलबासीले आफ्ना वरपरका क्षेत्रमा सफा गरी रातो माटोले लितपोतगरी स्वागत योग्य कार्य गर्दछन् । ४ः३० बजे तिर अन्तिम जात्राको तयारी सरकारी पुजाबाट गरिन्छ र खट अगाडी बढाइन्छ । खटलाई व्यवस्थित तथा अनुशासित ढंगबाट अगाडी बढाउन बंसः(विशेष प्रकारको सेतो कपडा) ल्यागु अर्थात कपडा बिछ्याई खट अगाडी बढाउने कार्य गरिन्छ । कोनेलाछीमा गएर जात्राको बिधिवत अन्त्य भए पनि पाँचवटै खटहरु पुनः थनेलाछीमा आएर यंसीलाई आफ्नो नियम अनुसारले परिक्रमा गरे पछि प्रत्यकका आ-आफ्ना प्रतिनिधि बाजाले लिन आउने गर्दछन । निगालो र सुकुन्दाले बत्ती देखाएर देवताको खटलाई देवता घरमा देवी देवतालाई बिधिवत पुजा आजाका साथ यथास्थानमा एक वर्षका लागि सुरक्षित राख्छन् । यसै समयमा “उखे वंसा सिमाया हृवांगले थुखे वंसा सिमाया हृवांगले…” हृदयविदारक मौलिक गीत गाउने चल्न पनि छ ।

    बैशाख ५ गते लिसपजाः यस दिन विहान थनेलाछिमा अवस्थित यँसी गालेमा रहेको यँसी ढालिन्छ । जात्रा समापन भएको संकेट गर्दै पाहाँ चह्रेमा थहराएको उक्त यँसिलाई यस दिन ढालिन्छ । त्यस्तै बिधिवत रुपमा जात्राको सम्पन्न भएको जानकारी दिन गुभाय द्यः (बज्रयोगिनी)मा गएर पुजाआजा गरी भोजभट्टेरको आयोजनागरी टोखा नगर परिक्रमा गर्दछन् । यो दिन सिन्दुर जात्रामा सामेल सबै खलः, पुच, गुठी तथा संघसंस्थाहरु बज्रयोगिनीमा गएर पुजागरी भोज खाई नगर परिक्रमा गर्नै पर्ने प्रवधान रहेको छ । यसरी आफ्नै मौलिम परम्पारा र छुट्टै महत्व बोकेको टोखाको बिस्काः  नखः सञ्चार माध्यममा स्थान नपाउँदा गुमनाम भैरहेको तीतो यर्थाथता छँदैछ । जे हो आफ्नो पुर्खाले सुम्पेर गएको जात्रालाई हालसम्म पनि निरन्तर रुपमा टोखाबासीहरुले हर्षोल्हासका साथ मनाइदै यसलाई जीवनत दिँदै आईरहेको छ ।

    Facebook Comments Box